काठमाडौँ: लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा.ली बीच विरेठाटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा संचालनको लागि समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महा प्रसाद अधिकारी र कम्पनी अध्यक्ष अरुण कुमार सुबेदीले हस्ताक्षर गरेका छन् ।
उक्त कम्पनीले विकास गर्ने मुक्तिनाथ केवलकार प्रणालीमा करिब ८३.६५ किलोमिटर लामो केवलकार लाइन निर्माण हुने छ ।
उक्त लाइनमा ६ वटा स्टेशनहरु रहने छन् भने त़ी स्टेशनलाई विरेठाटीदेखि घोरेपानी र घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित गरिएको कम्पनिले जनाएको छ ।
उक्त केवलकारको लागत ३५ करोड अमेरिकन डलर अनुमान गरिएको छ ।
गत बैशाख १५, २०७५ मा बसेको लगानी बोर्डको ३०औ बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्नुका साथै यसको लागि उक्त कम्पनिलाइ बिस्तृत परियोजना प्रतिवेदन तयार गराउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको थियो । समझदारी पत्रमा हस्ताक्षर भएको मितिले १८ महिना भित्र बिस्तृत परियोजना प्रतिवेदन तयार गरि लगानी बोर्ड समक्ष पेश गर्नु पर्ने जनाइएको छ ।
