काठमाडौं: खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् ।
उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए ।
‘विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरे बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिन्छ, काठमाडौंवासीलाई बारम्बार मेलम्चीको पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरेको छ, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएका छौं, साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको छ,’ उनले भने ।
उनले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको बताए । मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताएका छन् ।

