काठमाडौँ: सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै उनले दुई ठूला दलबीच सरकार निर्माणका लागि वार्ताको सूचना आफूकहाँ आएको दाबी गरेका हुन्।

‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौँ’, उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसो हुँदा माओवादी प्रतिपक्षमा बस्छ। हामी संसद र सडकलाई उपयोग गर्छौँ। तर कांग्रेस र एमाले मिलेर सरकार चलाउन सक्छन् भन्ने लाग्दैन। सरकार बनाए पनि उनीहरु जुध्छन्। उनीहरु जुधे भने माओवादीले सडक र सदन दुवैलाई उपयोग गरेर हिरो हुन्छ।’

उनले केपी शर्मा ओलीले संसद विघटन गर्दै गर्दा माओवादीलाई सिद्याउन खोजेको पनि बताएका छन्। ‘त्यतिबेलै माओवादीलाई सिद्धयाउन खोजिएको थियो’, प्रचण्डको भनाइबारे स्रोतले थप्यो, ‘तर हामी सिद्धिएनौँ, झन् निर्णायक भएका छौँ। हामीले निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे आलोचना र आत्मआलोना गर्न सक्नुपर्छ।’

उनले अहिले पनि माओवादीलाई नसोधी राष्ट्रिय राजनीति अघि नबढ्ने बताए।

‘राष्ट्रिय राजनीतिको हामी यस्तो शक्ति हौँ, जसलाई हिसाब नगरी अन्तराष्ट्रिय शक्ति चल्न सक्दैनन्’, उनको भनाइबारे स्रोतले भन्यो, ‘जनताले हामीलाई माया गरेका छन्। माओवादीसँग अझै पनि जनताको आशा छ। हामीले एक पटक फेरि देशको नेतृत्व लिन सक्ने अवस्था आएमा केही काम गर्छौँ। एउटा भ्रष्टाचारमाथि प्रहार गरिनेछ। पहिलो दिनदेखि नै शक्तिशाली संरचना बनाएर प्रहार गरेर सुरुमै जनतामा चिज नयाँ ठाउँमा जाने भन्ने पर्छ। अर्को मेगा प्रोजेक्ट थालनी गर्न सकेमा हामी देशलाई पनि एक ठाउँमा लैजान सक्छौँ।’

उनले २०४७ यताका विशिष्ठ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सके भ्रष्टाचार घटाउन सकिने पनि तर्क गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version