काठमाडौं: नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए ।
मेलाको गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी थिइन् । मंगलबार मेला तथा प्रतियोगिताको अन्तिम दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ठ व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरे ।
मन्त्री बडुले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धिः मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिका माध्यम भएको धारणा राखे । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै व्यवसायीहरुसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरेका छन् ।
मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरुले अवलोकन गर्दै कलाकारको हौसला बढाएका छन् । यस्तै, मेलामा १० ज्येष्ठ कलाकारलाई औषधिउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकाल देखि हालसम्म बहालवाला जेष्ठ ५० जना सदस्यहरुलार्ई पनि सम्मान गरिएको थियो ।
कोभिड महाामारीपछि हस्तकला व्यवसाय संकटमा परे पनि मेलाले कलाकार र व्यवसायीहरुलाई पुनर्जागरण गरेको महासंघ अध्यक्ष शाक्य बताउँछन् । उनका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ । सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरीदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह हुनसक्ने उनको भनाइ छ ।

