काठमाडौँ: चालु आर्थि वर्षको पहिलो चार महिनाको अवधि अर्थात साउन, भदौ, असोज र कात्तिकमा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै २०.४ प्रतिशतले धेरै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ कात्तिकमा ९७ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । जुन असोजको तुलनामा ३ अर्ब बढी हो । असोजमा महिनामा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

