काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ।

‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन। साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन,’ आज एक विज्ञप्ति निकाल्दै कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौं।’

उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन्।

‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौं,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन। हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं।’

उनले जनतासँग संवाद सुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको विकल्प नरहेको पनि बताएका छन्।

उनले गठबन्धनका नाममा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन नसकिने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले पार्टीका गल्ती तथा कमजोरीमाथि माफी माग्नेसमेत उल्लेख गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version