काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । आजदेखि काठमाडाँैमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताउनुभयो । उहाँले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।”

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

उहाँले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिनुभयो । आजदेखि सुरु भएको बैठकमा चुनावको समीक्षा, पार्टीको भावि नीति र कार्यक्रमबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version