काठमाडौँ: पुस महीनामा मुलुकको चालु खाता घाटामा ८ अर्ब ४४ करोडले सुधार हुँदा मुलुकको शोधान्तर बचतको स्थितिमा समेत ५१ अर्ब २३ करोड रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मध्यसम्म अर्थात पुस मसान्तसम्ममा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहँदा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा पुगेको छ ।

पछिल्लो समय निरन्तर आएको रेमिट्यान्स आप्रवाहको सुधार, सरकारले अबलम्बन गरेको आयात निरुत्साहन नीति, मूल्य वृद्धि, र उच्च ब्याजदरका कारण कर्जाको मागमा आएको संकुचनका कारण चालु खाता घाटा र शोधानान्तर स्थिति दुबैमा आशातित सुधार आएको हो ।

अघिल्लो महिना अर्थात मंसिरसम्ममा चालु खाता ३७ अर्ब ९१ करोडले घाटा थियो भने मंसिरमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको थियो । कार्तिकको तुलनामा मंसिरमा चालु खाता घाटा २ अर्ब ५१ करोडले बढ्दा शोधान्तर स्थीति भने २५ अर्ब ८४ करोडले सुधारिएको थियो ।

विसं २०७८ पुस मसान्तसम्ममा मुलुकको चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । एक वर्षको अवधिमा चालु खाता घाटामा ३ खर्ब २२ अर्ब ६९ करोड र शोधनान्तर स्थितिमा ३ खर्ब ३८ अर्ब ३३ करोडले सुधार भएको हो ।

विसं २०७८ पुसमा अमेरिकी डलरमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष पुसमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा पुगेको छ ।

अघिल्लो पुसको तुलनामा पुँजीगत ट्रान्सफर १९.१० प्रतिशतले कमी आई २०७९ पुस मसान्तसम्म ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्ष २०७८ पुसमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version