काठमाडौँ: धितोपत्र दलाल व्यवसायीले उपत्यका बाहिर कम्तिमा तीन वटा शाखा खोलेपछिमात्र काठमाडौं उपत्यका भित्र एक शाखा खोल्न पाउने भएका छन् ।

धितोपत्र दलाल व्यवसायीको मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृति नदिने व्यवस्था गरेको बोर्डले उपत्यकाको बाँकी दुई जिल्लामा भने मोफसलमा ३ शाखा विस्तार गरेपछि एउटा शाखा थप्न पाउने व्यवस्था गरेको हो।

सञ्चालनमा रहेका ५० मध्ये ४९ वटा ब्रोकर कम्पनीको मुख्य कार्यालय काठमाण्डौंमा रहेको छ भने सिप्रवी सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नम्बर २२) को मात्रै ललितपुर पुल्चोकमा रहेको छ । बोर्डले दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि उपत्यकामा शाखा खोल्नका लागि बैंकिङ्ग क्षेत्रमा राष्ट्र बैंकले लागू गरेको शाखा विस्तारको नीतिलाई नै धितोपत्र बोर्डले पनि अंगिकार गरेको हो । निर्देशिका फागनु ४ गते बिहीबारदेखि नै लागू भएको छ ।

बोर्डले जारी गरेको निर्देशकाले शाखा सञ्चालन गर्नसक्ने अवस्था नभएमा शाखा कार्यालय बन्द गर्ने सम्वन्धी बाटो समेत खुला गरेको छ । सञ्चालनमा रहेको शाखा कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आई धितोपत्र दलाल व्यवसायीले त्यस्तो शाखा बन्द गर्न चाहेमा सञ्चालक समितिको निर्णय सहित सोको कारण खुलाई अनुसूची बोर्डले तोकको ढाँचामा बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।

यसरी धितोपत्र दलाल व्यवसायीबाट प्राप्त निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक जाँचबुझ गरी शाखा कार्यालय बन्द गर्नुपर्ने कारण मनासिव देखेमा निवेदन प्राप्त भएको मितिले १५ दिन भित्र शाखा कार्यालय बन्द गर्न स्वीकृति प्रदान गर्नेछ । तर यसरी बन्द भएको शाखा कार्यालय मार्फत प्रदान हुँदै आएको ग्राहकको सेवा र कारोवार सम्वन्धी सम्पूर्ण जिम्मेवारी मुख्य कार्यालयमा सर्ने व्यवस्था निर्देशिका गरेको छ ।

धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा बोर्डले दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले उक्त निर्देशिका लागू भएको जनाएको छ ।

बोर्डले तोकेको प्रकृया र मापदण्ड पूरा गर्दै धितोपत्र दलाल व्यवसायीले एक पटकमा एउटा मात्रै शाखा खोल्न पाउनेछन् भने शाखा कार्यालय खोल्दा प्रति शाखा १ करोड ५० लाख रुपैयाँका दरले चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यद्यपी नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न भने प्रतिशाखा १ करोड ५० लाख रुपैयाँका दरले चुक्ता पूँजी कायम नगरेको अवस्थामा पनि बोर्डले शाखा सञ्चालनको स्वीकृति दिन सक्नेछ ।

निर्देशिका लागू भएसँगै धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहनेवित्तीय जोखिमको न्यूनिकरण हुने बोर्डको विश्वास छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version