काठमाडौँ: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट घटक मिल्नका लागि खारेजीमा परेको नेकपा ब्युँताउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको वार्ताका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार पोखरेलसँग बिहीबार काठमाडौंमा भएको वार्ताका क्रममा उक्त प्रस्ताव अघि सारिएको हो।

‘यदि म राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने २०७७ फागुन २३ मा खारेज भएको नेकपा ब्युँताउन तयार हुनुपर्छ’, पोखरेलसँगको वार्ताका क्रममा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘केपी कमरेड नेकपा ब्युँताउन तयार भएको अवस्थामा म राष्ट्रपतिमा अघि सर्न तयार छु।’

अध्यक्ष नेपालले सिंहदरबारमा बिहीबार नै भएको वार्ताका क्रममा पनि त्यही प्रस्ताव अघि सारेका छन्।

नेकपा एमालेका अध्यक्ष ओलीले आफूलाई राष्ट्रपतिका लागि अघि सारेकोबारे चर्चा गर्दै अध्यक्ष नेपालले त्यसका लागि प्रचण्ड पनि नेकपा ब्युँताउन तयार हुनुपर्ने प्रस्ताव राखेका हुन्।

अध्यक्ष नेपालले आफ्नो नाम राष्ट्रपतिका रुपमा चर्चामा आइरहेका बेला बिहीबारै काठमाडौंमा पार्टी बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधनका क्रममा पनि यही कुरा राखेका छन्।

‘मैले दुवै पार्टीका नेताहरुसँग यदि आफू राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने नेकपा ब्युँताउन तयार हुनुपर्छ भन्ने कुरा राखेको छु’, उनले उक्त बैठकलाई सम्बोधन गर्दै भने, ‘ओली र प्रचण्डजी दुवै यस कुरामा तयार हुन्छन् भने राष्ट्रपतिमा जान मलाई समस्या हुँदैन।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version