काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्व पीडितहरूको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो।

पेशी बिहीबारलाई तोकिएको अदालतले जनाएको छ। गत कात्तिक २४ मा दरपीठ भएको रिट सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयालको फागुन १९ को आदेशपछि दर्ता भएको हो।

निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन्। दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।

दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाई, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङजाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन्।

त्यस्तै अर्को रिटका निवेदकहरूमा कल्याण बुढाथोकी (रामेछाप), कमला राई तिमल्सेना (भोजपुर), विनोद सापकोटा (गोरखा), हुमराज दवाडी (लमजुङ्ग), पम्फा बुढाथोकी (रामेछाप), शिवकुमार बुढाथोकी (रामेछाप), सुवास गिरी (रामेछाप) र चिरञ्जीवीवास गिरी (धनुषा) छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version