काठमाडौँ: नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा रुमल्याइराख्ने गम्भीर षड्यन्त्रअन्तर्गत भएको बताएका छन्।

अध्यक्ष भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाइराख्ने, बाह्य शक्तिको चलखेल बनाइराख्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको र हाल आएर सामान्य निहु बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्तिसमेत जनाए।

शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भीर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो। उनले अदालतप्रति सम्मान गर्ने पटकपटक दोहोर्‍याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्कसमेत गरे।

अध्यक्ष भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकतासमेत औंल्याए। उनले महिलाहरूको नाममा नागरिकता बनाउने कुरा अझै व्यवस्था हुन नसकेकोमा असन्तुष्टिसमेत व्यक्त गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version