काठमाडौँ:

नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएको छ।

शनिबार विज्ञप्ति निकाल्दै महासंघले सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता नलिए कानूनीसहित दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।

सार्वभौम संसद्‌को मूल नेतृत्वबाटै पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति आउनु दुखद भएको बताउँदै महासंघले अभिव्यक्ति फिर्ता लिन भनेको छ। महासंघले आरोप पुष्टि गर्न नभएर अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको अधिकार र स्वतन्त्रताप्रति प्रतिवद्धता जनाउन अनुरोध गरेको छ।

प्रतिनिधिसभाका सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको र पत्रकारहरू बिक्रीमा रहेको बताएका थिए।

पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेर देशमा पीत पत्रकारिता डरलाग्दो गरी देखापरेको र त्यसको प्रभाव समाजमा परिरहेको उनको भनाइ थियो।

‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जे–जे कारणले भए पनि तिनीहरू प्रभावित छन्,’ उनले भनेका थिए, ‘अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू। अब पत्रकारहरू बिक्रीमा छन्। बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ। किनेर गरेको छ । फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version