काठमाडौँ: नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्।

उनले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गर्दै बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।

यस्तो छ वाग्लेको भनाइ:

नेपाली कांग्रेसबाट अलग भएको घोषणा

वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ।

विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

तर पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।

आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version