काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पदाधिकारी प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले समस्याग्रस्त अर्थतन्त्र सुधार्न आफू प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।
उनले भने, “तपाईहरुको मनाबल घट्न दिन्न तपाईहरुसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।”
प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै विभिन्न सुझाव दिएको हो ।
भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिएका छन् । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव छ । सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए ।
यस्तै अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न त्यसलाई बढाउनुपर्ने तथा सरकारसँग राजस्व कम उठेर चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्थामा बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।
नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष गोल्छाले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने सुुझाएका छन् । अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गरे ।
निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न अध्यक्षले जोड दिएका थिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।

