ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ ।

ज्यापु समाज यलले आज यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो ।

“मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।”

काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले अहिले ‘डम्पिङ साइट’मा फोहर फारिहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “फोहरबाटै ग्यास र मल निकाल्न लाग्नुपर्छ ।”

तुइन विस्थापनको काम धमाधम अघि बढिरहेको उहाँले बताउनुभयो । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका छन् भन्नुभयो । उहाँले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेकोे बताउनुभयो ।

पाटन सानो शहर भएर पनि ऐतिहासिक र कलाले धनी रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको उहाँले बताउनुुभयो । उहाँले भन्नुभयो, “बीचमा लामो समयसम्म शासन गर्नेले अन्योलमा राख्नाले हामी नबुझेर बस्न बाध्य भयौँ, अब त्यसको अन्त्य हुन्छ ।”

अर्गानिक खेतीको विकास गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले खाने कुरामा मिसावट भएका कारण नागरिक धेरै खालका रोगबाट सिकार भइरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पेट भर्नका लागि मात्रै नभएर स्वास्थ रहनका लागि खानुपर्छ ।”

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणी पौडेलले ज्यापु समाज पूरानो इतिहास बोकेको समुदाय भएको बताउनुभयो । मलुकको समृद्धिमा ज्यापु समाजको विगतदेखि नै योगदान रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लामो समयदेखि यो समुदाय श्रम र उत्पादनसँग जोडिएर आएको छ, समृद्धि कामले मात्र सम्भव हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टीका नेता पम्फा भुषालले ज्यापु समाज चक्रपथभित्र मात्रै सीमित नभएर आसपासका वस्तीसम्म फैलनुपर्ने आवश्यकता औँल्याउनुुभयो । प्रदेशसभा सांसद माधव पौडेलले ज्यापु समाज यल सिङ्गो जिल्लाको गौरव बनेको बताउनुभयो ।

पूर्व सांसद चन्द्र महर्जनले ज्यापु समाजले विगतदेखि नै विकासका काममा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । समाजले रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने ज्यापु समाजका सदस्यलाई सम्मान गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version