दोधारा चाँदनी, २२ चैत (रासस) : कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताउनुभयो ।

“हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई नि:शुल्क पोशाक र झोला उपलब्ध गराउँदैछाँै”, उहाँले भन्नुभयो, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छाँै ।” उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताउनुभयो । “नयाँ विद्यार्थी थप गर्ने लक्ष्य छ”, भट्टले भन्नुभयो, “त्यसैले घर–घरमै पुगिरहेका छौँ ।”

महेन्द्रनगर माध्यमिक विद्यालयले पनि घर–घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ । विद्यालयका शिक्षक नवराज जोशीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक–शिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताउनुभयो । “नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत नि:शुल्क पठनपाठन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । हाल कक्षा १० सम्म विद्यालयमा तीन सय ८५ विद्यार्थी रहेकामा यस वर्ष पाँच सय विद्यार्थी पुर्‍याउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियान थालेको उहाँको भनाइ छ ।

“कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छ”, जोशीले भन्नुभयो, “साुमदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा छन्, यहाँ भर्ना हुँदा विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।” उहाँले टोल–टोलमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताउनुभयो ।

जिल्लाको सबैभन्दा पुरानो विद्यालय बैजनाथ माविले पनि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिनुभयो । “नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।” हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version