काठमाडौँ:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ हजार अमेरिकी डलरसहित शंकास्पद ११ जना नेपाली पक्राउ परेका छन्।

फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थल प्रहरीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाई रोमानिया र क्रोएसिया जान लागेका थिए।

विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा नरहेको र उनीहरूको यात्रा शंकास्पद देखिएकाले पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे, बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र सोलुखुम्बुका दोर्जी तामाङ रहेका छन्।

पक्राउ परेका प्रत्येक व्यक्तिबाट ३ हजारका दरले कुल ३३ हजार अमेरिकी डलर बरामद भएको हो। ग्लोबल रिक्रुटमेन्ट मेनपावरबाट उनीहरूलाई दुबई पठाउन लागिएको थियो। बरामद रकम उक्त मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version