काठमाडौँ: चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्ममा मुलुकको कूल व्यापार घाटा पौने ११ खर्ब रूपैयाँ पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत चैतमसान्तसम्मको विवरण अनुसार व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो ।

नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ९ महिनामा कूल व्यापार १८.८९ प्रतिशतले घटेको छ । गत आवमा कूल १६ खर्ब २७ अर्ब २३ करोड बराबरको व्यापार भएको थियो ।

गत आवमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको ९ महिनामा १८.०८ प्रतिशतले कमी आई १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आवको ९ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको ९ महिनामा २६.३४ प्रतिशतले ओरालो लागेर एक खर्ब १८ अर्ब २७ करोड बराबरको वस्तु निर्यात भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version