काठमाडौं: सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

संविधानका अनुसूचीमा भएका प्रावधान र प्रचलित कानून अनुसार सरसफाई, फोहोर व्यवस्थापनको काम स्थानीय तहको जिम्मेवारीमा रहेको भन्दै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरपालिकाको हुने भन्दै ध्यानाकर्षण गराएको हो ।

आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्‍याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’

हरेक नेपाली नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक हुने भन्दै सर्वोच्च अदालतले फोहोर व्यवस्थापन नभई वातावरण प्रदुषित भएमा सबै आक्रान्त हुनसक्ने र महामारी फैलनसक्ने औल्याएको छ । केही दिनयताको विवरणमा काठमाडौं उपत्यका विश्वकै प्रदुषित शहरमा परेको भन्दै सर्वोच्च अदालतले तत्काल फोहोर व्यवस्थापन गर्नु भनी आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवार, बालुवाटार र शितल निवास क्षेत्रको फोहोर संकलन गर्ने भनी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि फोहोर उठ्न रोकिएको थियो ।

यही विषयलाई जानकारीमा लिदै सर्वोच्च अदालतले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि स्वच्छ र स्वस्थ वातावरण कायम गर्न राज्यका निकायहरु लगायत नागरिकको सामूहिक प्रयास हुनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

आदेशमा भनिएको छ, ‘सिंहदरबार लगायतका ठाउँहरुको फोहोर नउठाएको र विसर्जन नगरेको क्रियाकलाप एवं गतिविधिले वातावरण दिनानुदिन प्रदुषित भइरहेको र प्रदुषित वातावरणले आम जनमानसलाई प्रत्यक्ष असर परिरहेको देखिँदा कत्ति पनि ढिलाई नगरी उल्लिखित क्षेत्रमा जम्मा हुन पुगेको फोहोर अविलम्ब संकलन गरी उठाइ विसर्जन गर्नुपर्ने देखियो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version