काठमाडौँ, ११ वैशाख :
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन ।
मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
तेस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ ।
यस्तो छ आजको मौसम
काठमाडौँ, ११ वैशाख :
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

