काठमाडौँ:
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि अन्तिम सुनुवाइ गर्न जिल्ला अदालत (काठमाडौँ) का न्यायाधीश दीपक ढकालको इजलासमा पेसी तोकिएको छ।
सन्दीपविरुद्धको मुद्दाको पेसी चौथो नम्बरमा परेकाले आज अन्तिम सुनुवाइ हुने सम्भावना देखिएको छ।
यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ। यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो।
एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो।
कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भए।
सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।
थुनामुक्त भएपछि राष्ट्रिय टोटीबाट सन्दीपले नियमित क्रिकेट खेलिरहेका छन्।

