काठमाडौं: बैंक तथा वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गर्ने ब्यक्ति तथा समूहलाई मुद्धा चलाइने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबिफीन) ले बैंक तथा वित्तीय संस्था विरुद्ध क्रियाकलाप गर्नेलाई मुद्धा चलाउने बताएको हो ।
‘कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुरÞ्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज तिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिइनेछ,’ सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघको बैशाख १४ गते बसेको चौंथो बैठकले बैंक तथा वित्तीय संस्थाको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरूले विगत केही समयदेखि निरन्तर रूपमा गैरकानूनी गतिविधिहरू गरेको हुँदा आगामी दिनमा पनि यस्त घटना भए कानुनी बाटो रोज्ने बताएको हो ।
‘बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्, प्रतिबद्ध र दृढ संकल्पित रहेका छन्,’ सिबिफिनले भनेको छ ।

