काठमाडौं: नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी-३ जलायश जलविद्युत आयोजना निर्माण गर्न ६ महिनाभित्र जोइन्ट भेन्चर (जेभी) सम्झौता गर्ने सहमति भएको छ ।

बंगलादेशको पतुवाखालीमा जेठ २ गते (मंगलबार) सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा यो जलाशय जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने सहमति अनुसार संयुक्त कम्पनी स्थापना गरी निर्माण गर्न जेभी सम्झौता हुने सहमति बनेको हो ।

लगानी गर्न बंगलादेश तयार भई संयुक्त कम्पनी स्थापना गर्ने सहमति बनिसकेकाले जेभी सम्झौता गरी आयोजनाको निर्माण प्रक्रिया अगाडि बनाउने निर्णय बैठकमा भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले ढाकाबाट जानकारी दिए । उनका अनुसार आगामी हिउँदसम्ममा भारतीय भूमिमा बनेको प्रसारण लाइनको प्रयोग गरी ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्न सुरु गर्ने सहमति पनि बैठकमा बनेको छ ।

‘सुनकोसी–३ नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने सहमति पहिले नै भइसकेको हो,’ उनले भने,‘सचिव स्तरीय बैठकले ६ महिनाभित्र जेभी सम्झौता गर्ने निर्णय गरेको छ । साथै, आउने हिउँदमा बढीमा ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गरी अन्तरदेशीय विद्युत व्यापार सुरु गर्ने सहमति पनि भएको छ ।’ बैठकले यथाशक्य छिटो पीपीएमा हस्ताक्षर गर्ने निर्णय गरेको प्रवक्ता भेटुवालले जानकारी दिए ।

उनले बंगलादेशसँगको विद्युत व्यापारका लागि विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) ले त्रिपक्षीय सम्झौतालाई अन्तिम रुप दिने सहमति पनि बैठकमा बनेको बताए ।

यसैगरी बैठकले नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने निर्णय पनि गरेको छ । वैकल्पिक ऊर्जाको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्र (एईपीसी) र दिगो र नवीकरण ऊर्जा विकास प्राधिकरण (स्रेडा)बंगलादेशबीच सहकार्यका लागि समझदारीपत्रको मस्यौदामा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तर देशीय प्रसारण लाइन निर्माण लगायतका क्षेत्रमा सहकार्यका लागि उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्नका लागि दुवै पक्षबाट पहल गर्ने निर्णय बैठकले गरेको छ ।

यसअघि गत भदौ (२०७९,भदौ) मा काठमाडौंमा सम्पन्न दुई देशका सचिव स्तरीय बैठकमा विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउने सहमति बनेको थियो ।

यो बैठकमा बंगलादेश पक्ष सुनकोसी–३ आयोजनाको सम्भाव्यता सम्बन्धी अध्ययन तथा वतावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो ।

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा प्रवद्र्धक कम्पनी जीएमआर र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच हुने विद्युत विक्री सम्झौता (पीएसए) अन्तिम चरणमा पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version