काठमाडौँ सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसद्‌का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यलाई उपस्थितिका लागि आह्वान गर्न सकिने व्यवस्था छ। सोबमोजिम आज राष्ट्रपति पौडेलले संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि आजै साँझ ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रावधान छ।

आज पेस गरिने सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version