काठमाडौँ: आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्।

डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरेर पुनः प्रक्रिया सुरु गर्नुपर्ने माग गरे।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा भए पछि उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन। टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो। यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे।’

चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले सघाउने बताए। उनले थपे, ‘उहाँहरुले पनि आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ। त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ।’

आफूहरू र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

चौधरीले टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताए। ‘टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ,’ चौधरीले भने, ‘जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो। राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ।’

टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुने उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version