काठमाडौँ: देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला (आइतबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले मधेश प्रदेशका केही स्थान र देशका बाँकी प्रदेशका एक/दुई ठाउँमा वर्षा भइरहेको हो। ‘अहिले काठमाडौं र आसपासका एक/दुई स्थानमा पनि वर्षा भइरहेको छ’, उनले भनिन्।
दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

