काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन्।

त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ।

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन।

बेपत्ता नेपाली नागरिकको खोजी, विपद्मा फसेकाको उद्धार र राहत तथा मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न त्यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको छ।

रुद्रप्रयागका जिल्लाधिकारी त्यहाँस्थित आपदा कन्ट्रोल रुम र उत्तराखण्डस्थित विपद् व्यवस्थापन सचिवालयसँग नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।

यस सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा आपदा कन्ट्रोल रुम, रुद्रप्रयाग (918958757335) र नेपाली राजदूतवास, नयाँ दिल्ली +91 92051950350 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version