काठमाडौँ: आज (आइतबार) देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशका थोरै साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

