काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि गरिब र निमुखासम्मलाई एउटै हुने दाबी गरेका छन्।

शनिबार गोरखाको सिरानचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यविरुद्ध झेलि गर्नेहरूलाई कानुनको घेरामा ल्याइने बताए।

‘हामीले एउटा नयाँ अभियान सुरु गरेका र्छौं। न्याय वा कानुन खाली एउटा गरिब र निमुखालाई मात्रै लाग्छ, ठूला नेता, मन्त्री, सचिव वा पदाधिकारीहरूलाई कानुन लाग्दैन भन्याजस्तो जुन बुझाइ थियो त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि कोही दोषी छ भने मन्त्री भएपनि, नेता भएपनि, सरकारी पदाधिकारी, कर्मचारी भएपनि कसैले छुट पाउन सक्दैन। माथिबाट दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिएको छ।’

साथै, उनले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्दै जाँदा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिएको बताए।

‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ, आफ्ना परे भने तीनिहरुमाथि कारबाही नगर्ने, अरुलाई गर्ने भनेर प्रचार भयो। मैले अनुसन्धानकर्ताहरुलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरि भए गिरफ्तार पनि गर्नुपर्छ भनेर निर्देशन दिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले सरकारको भ्रष्टाचारविरोधी अभियान सामान्य नभएको पनि बताए।

‘यो अभियान सामान्य अभियान होइन। यो निरन्तर अघि लानुपर्छ। जबसम्म माथिदेखि तलसम्म भ्रष्टाचारको जालो तोडिएर सुशासन स्थापित हुँदैन यो अभियान रोकिन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version