काठमाडौं: सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । भदौ २९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गर्नेदेखि विभिन्न ८ वटा निर्णय गरेको हो ।
सोही बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने सरकारको निर्णय छ ।
सरकाले सिंचाई नीति, २०८०, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृतगरी विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न पनि स्वीकृति दिने भएको छ ।
त्यसैगरी, संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने र हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने सरकारको निर्णय भएको छ ।
साथै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गरिने भएको छ ।

