निवेदन संसदीय समितिमा दर्ता, उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिदिन आग्रह

काठमाडौँ: हिन्दुहरूको प्रमुख आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा राखिएको १०८ किलो सुनको जलहरी काण्ड फेरि बल्झाइएको छ ।

जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन नपुगेको भनेर फेरी आफूलाई दुःख दिन लागेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिमा निवेदन दर्ता गराएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा दर्ता गरेको निवेदनमा थापाले जलहरीबारे उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिदिनका लागि आग्रह गरेका छन् ।

निवेदनमा उनले बदलाको भावनाले आफूलाई फसाइएमा पशुपतिनाथको मन्दिरमा प्राण त्याग गर्ने समेत उल्लेख गरेका छन् । निवेदनको साथमा उनले ‘मलाई न्याय देऊ सरकार’ लेखेर घाँटीमा फाँसीको फन्दा र आँखामा आँसु भएको मानिसको चित्र समेत पठाएका छन् ।

उनले जलहरी राख्ने काममा राष्ट्रपति, प्रधानमन्त्री देखि तत्कालीन सदस्यसचिवसम्मका व्यक्तिको संलग्नता रहे पनि अख्तियारले पूर्वाग्रही ढंगले आफूलाई मात्रै दोषी देखाउन खोजेको, पशुपतिको जग्गामा चलखेल गर्न नपाएका व्यक्ति तथा मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल समेत आफूविरुद्ध लागेको आरोप लगाएका छन् ।

कार्यकारी निर्देशक थापाले सत्य तथ्य छानबिन गरी न्याय पाउँ भन्दै लेखेको निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेको र त्यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको उल्लेख गरेका छन् ।

नेपाली सेनाको रोहवर र निगरानीमा नेपाल प्रहरीको सुरक्षा, सिसीक्यामेराको निगरानीमा, पशुपतिमा भण्डारीहरू, मूल भट्ट लगायत तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल लगायतको समितिले राखेको र प्रक्रिया अनुसार नेपाल राष्ट्र बैङ्क मार्फत सुन खरिद गरेको उल्लेख गरेका छन् ।

यो पनि फेरि चर्कियो जलहरी प्रकरण : राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म हारगुहार फेरि चर्कियो जलहरी प्रकरण : राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म हारगुहार १ सय ८ केजी सुनमध्ये जलहरी ९६ केजी ६ सय २२ ग्राम भएको र बाँकी जलहरी अड्याउने पेच तथा पेटी भएको बताउँदै जलहरीको मात्र तौल हेरेर बाँकी सुन हराएको भनेर उजुरी परेपछि अख्तियारले जाँच गरेको थापाले बताएका छन् ।

थापाले अख्तियारले जाँच गर्दा जलहरी, पेच र रिङको तौल १०७ दशमलव ४७ ग्राम रहेको र सुनको धुलो ६२३ ग्राम गरी १०७ दशमलव ६७ ग्राम रहेको र नपुग सुनको तौल २५४ ग्राम रहेको उल्लेख गर्दै १०७ किलो ९२ ग्राम सुन पगालेर जलहरी बनाउँदा कति जर्ती जान्छ त्यसलाई अख्तियारले सम्बोधन नगरेको गुनासो गरेका छन् । उनले जडान गरेको ३ वर्षपछि जोख्दा कति खिइन्छ सो को पनि हिसाब नगरेको उल्लेख गरेका छन् ।

यस्ता छन् सदस्यसचिव थापाले उठाएका प्रश्नहरू :

–सुनको १०७ किलो ९२४ दशमलव ८५ ग्रामलाई पगालेर जलहरी बनाउँदा कति जर्ती जान्छ त ? जुन कुरा आयोगले सम्बोधन गरेको पाइन्न ।

–जडान गरेको ३ वर्ष पछि जोख्दा कति खिइन्छ त ? सो को पनि हिसाब गरेको छैन ।

–नेपाल राष्ट्र बैकबाट शुद्धता मापन गरी ल्याएको सुनलाई आयोगले सिफारिस गरेको सुन चाँदी रत्न आभूषण महासंघको प्रतिवेदनमा शुद्धतामा राष्ट्र बैंकले नै कम सुन दिएको भनि दिएको र त्यसैको आधारमा मुचुल्का गरी पुगेको तौललाई पनि नपुगेको भन्दै मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सुन चाँदी रत्न आभूषण महासंघलाई सुनको शुद्धता जाँच गर्ने अधिकार छ छैन ?

–उक्त महासंघको कानुनी वैधता के हो ?

–शुद्धता जाँच गर्ने मेसिनको आधिकारिकता के हो ?

–मेसिनलाई वैधानिकता दिने निकाय कुन हो ?

–तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भानुभक्त ढकालको अध्यक्षतामा बसेको परिषद्को निर्णयबाट मलाई संयोजक बनाएको थियो ।

उक्त निर्णय गर्ने समितिका सम्पूर्ण पदाधिकारीहरूको जिम्मेवारी के हुने ?

–सुनको जलहरी बनाउँदा सम्पूर्ण कार्यमा नेपाली सेनाको जिम्मेवारीमा बनाएको थियो, सुनको कम भएको हो भने सेनाको जिम्मेवारी के हुने ?

–तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू बाट नेपाल सरकारबाट स्वीकृति हुने गरी रु.३० करोड दिने निर्णय भएको थियो, उहाँको जिम्मेवारी के हुने ?

–तत्कालीन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले जलहरी अनावरण गर्नुभएको थियो उक्त जलहरी बनाउन राष्ट्रपतिज्यूको सचिवालयबाट छिटो गर भन्ने पटक पटकको निर्देशन दिने गरिएको थियो ।

निर्देशन बमोजिम रात बिहान नभनी कार्य सम्पन्न गर्‍यो । यसरी राष्ट्रप्रमुखज्यू को निर्देशनमा समय अवधि भन्दा छिटो सक्दा पनि आज यो हविगत बेहोर्नु पर्दा एउटा राष्ट्रसेवकलाई दुःख लागेको छ ।

यसको जिम्मेवारी तत्कालीन राष्ट्र प्रमुखज्यूले लिने की नलिने ?

यस जलहरीको विषयमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारीहरू, अन्य पूर्व पदाधिकारीहरू माफियाहरूको स्वार्थ नमिल्दा मलाई व्यक्तिगत रूपमा उजुरी हाल्ने काम भइरहेको छ ।

म विश्वस्त छु कि यो विषयको एक दिन सत्य तथ्य आउने नै छ, तर यस विषयमा मैले पाएको मानसिक तनाव र मेरो इज्जतमा लागेको दागको क्षतिपूर्ति कसले दिने ? झुटा उजुरी दिने माथि कारबाही के हुने ?

–राष्ट्र बैंकले मापन गरी बिक्री गरेको सुनको शुद्धता जाँच गर्ने अधिकार एउटा व्यापारिक संस्थालाई हुन्छ वा हुँदैन ? –अख्तियार जस्तो निकायले विज्ञता हासिल गर्ने निकायबाट फोरेन्सिक ल्याब बाट मात्र जाँच गर्न पाउनेमा व्यापारिक संस्थाको गैर कानुनी मेसिनबाट शुद्धतालाई कानुनी मान्यता दिन मिल्ने कि नमिल्ने ?

–तौल र राष्ट्र बैकले शुद्धता मापन गरी बिक्री गरेको विषयलाई आयोगले मुचुल्का गरी तौल मापन गरेको विषयलाई पुन तौल घटाउने आधार के हो ? यसमा राष्ट्र बैंकको जिम्मेवारी के हुने ? राष्ट्र बैंककै कारण तौल कम भए राष्ट्र बैंक दोषी हुने कि नहुने ? –आयोगले १० केजी सुन हराएको विषयमा छानबिन गरेको थियो जुन स्पष्ट भइसकेको छ, अव पुनः राष्ट्र बैककै नियतमा शङ्का गरी सुनको शुद्धतामा गलत भयो भन्दै पशुपति क्षेत्र विकास कोषको गरिमा घट्ने गरी गिजोलिरहनु कत्तिको न्याय संगत हो ?

–किन आयोगले यस विषयमा अनुचित भावना राख्यो त ?

सदस्यसचिव थापाले आफूले गरेका राम्रा कामहरूको समेत विवरण राख्दै पशुपतिनाथ प्रतिको भावना बिगार्न, पशुपतिनाथको गरिमा र आस्था जोडिने पशुपति क्षेत्र विकास कोषलाई बदनाम गर्ने गैर हिन्दुवादीहरू र नाफाखोर तथा भू–माफियाहरूले नकारात्मक खेल खेलिरहेको आरोप समेत लगाएका छन् ।

भारतीय राजदूतावासको समन्वयमा विभिन्न कार्यक्रमहरू पशुपतिमा गरिरहेको अवस्थामा केही पूर्व परिषद् सदस्यहरूले समेत लाञ्छना लगाउने काम गरिरहेको, आफू सदस्य सचिव भएर आएपछि पशुपति मारवाडी सेवा समितिले गौशाला धर्मशालाबाट ७० वर्षदेखि करोडौँ रुपैयाँ दोहन गरेकोले मारवाडीहरूलाई कारबाही सुरु गरेपछि समितिका अध्यक्ष कैलाश गोयलले सदस्य सचिवलाई निलम्बन गराउन आफूले जति खर्च गर्न परे पनि गर्ने भन्दै आफूलाई फसाउन लागेको पनि दाबी गरेका छन् ।

संसदीय समितिलाई उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्दै थापाले भनेका छन्–‘पशुपतिनाथमा जलहरी राख्न तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रत्यक्ष निर्देशनमा जलहरी राख्ने काम भएको हो ।

उहाँहरूको छिटो गर्न भन्ने निर्देशनबाट हामीले रातभरि नसुतीकन सेवा भावले गरेका थियौँ ।

जलहरी राख्न नीतिगत निर्णय गर्ने, निर्देशन दिनेहरूलाई छोडेर सेवा गर्ने कारिन्दालाई मात्र तनाव दिई आत्मसम्मानमा ठेस पुराउने काम अख्तियारले किन गरिरहेको छ ?’ उनले अगाडि भनेका छन्–‘त्यसैले यस समिति मार्फत म न्यायको अपिल गर्न चाहन्छु । पूर्वाग्रही ढंगले आयोगले व्यवहार गरिरहेको कारण यही समिति मार्फत उच्च स्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य पत्ता लगाइदिनु हुन पनि म जोडदार माग गर्दछु ।’

उनले सो अपिल सदस्य सचिव पद जोगाउनका लागि मात्र नभई आत्मसम्मान, न्याय र स्वाभिमानका लागि अपिल गरेको बताएका छन् । राज्यले सेवकलाई निरुत्साहित गराउने हो भने आगामी दिनमा देशभक्त कर्मचारीहरू तथा राजनीतिक नियुक्ति पाएका देशका सेवकहरूको मनोबल गिर्ने र राज्यकै कारण नागरिकहरूले आत्मदाह र जीवन प्रति नै निराश हुन पर्ने स्थिति आउने बताएका छन् ।

उनले भनेका छन्–‘म आफू पनि यही सोचिरहेको छु कि यदि गलत नगर्दा नगर्दै राज्यले मलाई दण्ड दिने कार्य ग/\=यो भने न्याय पाइन भने, र यसै कारण अन्य विषयमा समेत बदलाको भावनाले मलाई पसाइयो भने, पशुपतिनाथकै मन्दिर भित्रै मेरो प्राण त्याग्ने विकल्प छैन ।

यदि यसो गर्दा गर्दै पनि मलाई आत्मसम्मान र मौलिक हकमा ठेस लाग्ने गरी कारबाही गरेमा मलाई प्राण त्याग गर्न बाध्य बनाउनेहरूको नाम सार्वजनिक गर्नेछु ।’ कार्यकारी निर्देशक थापाले सुनको जलहरी राख्ने प्रक्रियामा बैठकका माइन्युटको फोटोकपी तथा अन्य कागजातका फोटोकपीहरू समेत सामेल गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version