काठमाडौँ: नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएका हुन्।

उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए।

सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरुलाई जोगाउन सरकारले पसिना छुटाउनु परेको ओलीले बताए।

उनले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरु नर्तसिने बताए।

‘सरकारमा बसेर यो फाइल खोल्छु, त्यो फाइल खोल्छु, त्यो खोलिन्छ। आफ्नो एउटा समर्थक पत्रकारलाई सोध्न लगाइन्छ, फलानो फाइल खोल्नुहुन्छ कि खोल्नुहुन्न? खोल्छु भनेर। कुन कुन फाइल खोल्ने हो खोल्नुस्। खुलेका फाइलका हालत यस्तो छ’, उनले भने, ‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिएको थियो। त्यो फाइल बन्द गर्न क्या गाह्रो पर्‍यो? फाइल त खोल्नुभयो। तर बन्द गर्न कस्तो गाह्रो पर्‍यो। सत्ता गठबन्धन परेपछि त त्यसलाई कसरी जोगाउने? पसिना आएको त्यतिबेला। रुमालले पुगेन। गम्छा लिएर पुछ्नु परेको थियो तपाईंहरुलाई।’

उनले सरकारलाई सुनकाण्डले पनि हैरान बनाएको बताए। त्यति गाह्रो पसिना छुटाएको थियो । ‘तपाईंहरुलाई कति हैरान पारेको छ? ३ जनाको आयोग बनाउने कुरा थियो। नराखी नहुने आफ्ना मान्छे परे होलान्। ४ जना राख्नु परेछ। यो सबै ब्ल्याकमेलिङ त हो नि। प्रतिपक्षलाई तर्साएको हो। मेरो नाममा त बारी बारीमा बुख्याँचा राख्नुभएको छ।’

उनले सरकारका बुँख्याचाले काम नगर्ने पनि बताए। ‘म भन्न चाहान्छु केही नबुझ्ने चराहरुलाई बुँख्याचाले काम गर्ला। हामीजस्तो राजनीतिक मैदानमा लडेर आएका, देश र जनताका लागि लडेर आएका, जेलनेल भोगेर, ज्यान हत्केलामा राखेर आएका, देशप्रति सर्मपित, म भ्रष्टाचार गर्दिन, अरुलाई गर्न दिन्न भनेर सार्वजनिक प्रतिवद्धताका साथ काम गरेका हामीहरुलाई यस्ता ब्ल्याक मेलिङहरुले काम गर्दैन’, उनले भने।

अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह गरे।

उनले राष्ट्रहित, विकासका प्रयास, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताका विषयमा एकजुट हुनुपर्ने बताए।

त्यस्तै राजनीतिक उपलब्धी र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनले बताए। अध्यक्ष ओलीले परराष्ट्र नीतिमा राष्ट्रिय दृष्टिकोण बनाएर स्थायित्व दिनुपर्ने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version