काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए।

‘अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो।

त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार, एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन,’ ओलीले भने, ‘संविधानले जनतालाई भोट नखसाल भन्छ? थोरै मात्रै खसाल भन्छ? एउटा पार्टीलाई थोरै खसाल वा सबै पार्टीलाई बराबर बाँड भन्छ र? हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ। बहुमत किन आउँदैन?

हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ।’ उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउँदै उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए।

आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताउँदै ओलीले कांग्रेसको कुनै नीति र विधि नरहेको पनि बताए।

‘पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ। आफूलाई अध्यावधिक गर्न सकेन भने बुढो हुन्छ। हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी। त्यो देखिएको छ। नेपाली कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन,’ उनले भने, ‘महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने।

नीति, विधिको कुरा उहाँहरूले नीति विधि कहिले बनाउनु भयो। मान्छे छान्नु मात्रै लोकतन्त्र होइन। विधि बिनाको मान्छे छनाइ के छनाइ? त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो।’ अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version