काठमाडौँ: आफ्नो संस्थापन पार्टी परित्याग गरेर अहिले राजेन्द्र लिङ्ग्देनको राप्रपा प्रवेश गरेका रबिन्द्र मिश्र आज बडा दशैंको मुख्य दिन पूर्वा राजा ज्ञानेन्द्र शाहको हातबाट टिका ग्रहण गर्न जाने भएका छन् ।

सामाजिक संजाल ट्विटरमा एक पोस्ट गर्दै उनले सो को घोषणा गरेका हुन्। उनले टिका लगाउन जानुको ७ कारण समेत पेश गरेका छन्।
हो, जाँदैछु, जीवनमा पहिलो पटक
राजाको हातबाट टिका लगाउँदैछु!

पाँच कारण दिँदै राष्ट्रपतिको हातबाट टिका नलगाउन हिजो आग्रह गरेपछि, कतिपयले सोधे: राजासँग टिका लगाउन जाने हो त? उत्तर: हो, जाँदैछु –छोटकरीमा भन्दा, सात कारणले जाँदैछु।

१। गणतन्त्रको नाममा धेरै कुकर्म सहियो तर “राष्ट्र र राज्य”को क्रमिक र डरलाग्दो क्षयीकरण सहन सकिएन।

अरू जे सहे पनि यिनीहरूलाई देश नै ध्वस्त पार्न र भावी पुस्ता देशमा बस्नै नसक्ने बनाउन चाहिँ बुद्धि र बर्कतले भ्याएसम्म दिइँदैन।

बाँकि त मान्छेको जस्तै देशको पनि भाग्यरेखा हुने रहेछ। देशकै ग्रह ठिक छैन भने त कसको के लाग्छ र!

२। कि राजनीति नै गरिँदैन, गर्ने हो भने त्यो भावी पुस्ता र देशको दिर्घकालीन हितलाई ध्यानमा राखेर मात्र गरिन्छ। अग्रगामीका अगाडि ओभानो देखिएर चुनाव जित्ने चेष्टा गरिन। भविष्यमा पनि “व्यक्ति जित्ने देश हार्ने”राजनीति गर्दिन। व्यक्तिगत आकांक्षा पुर्ति गर्न पापको भारी बोकेर मर्दिन– त्यसमा प्रष्ट छु।

३। “राजनीतिक रूपमा असफल भइएला, राजनीतिक भविष्य संकटमा पर्ला, चुनाव नजितिएला”भनेर राजसंस्थाको आवश्यकता वोध गरेर पनि नबोल्ने बरिष्ठदेखि कनिष्ठ र पुरानादेखि नया नेताहरू यति भेटेको छु कि तपाईंले विश्वास पनि गर्न सक्नुहुन्न। त्यस्ता नेताबाट भावी पुस्ता र यो देशको भविष्य बन्छ भन्ने आशा राख्नुभएको छ भने त्यो पूर्णत: भ्रम हो।

४। एकजना राजालाई बदला लिन खोज्दा जानी-नजानी नया/पुराना सबै राजनीतिक दल र नया/पुराना सबै नागरिक समाजको “प्रचण्डीकरण”भयो। विभिन्न रङ्गका “प्रचण्ड पथगामी”हरूले अलिअलि फोहोर बढारेको देखिए पनि त्यसले कुनै हालतमा देशको दिर्घकालीन हित गर्दैन। देशको भूराजनीतिक र आन्तरिक जटिलताहरू धेरै गम्भिर बनिसकेका छन्।

५। त्यसैले यो देशमा भोली संकट आएको स्थितिमा सम्हाल्न “कुशन संस्था”का रूपमा राजसंस्था चाहिन्छ। त्यसका लागि२०४७ सालको संविधानमा टेकेर त्यसैलाई परिमार्जन गर्दै एकले अर्कोलाई निषेध नगरी राजा, राजनीतिक दल र जनताका बीच #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जानुको विकल्प छैन।

६। #नवीनसमझदारी मा नजाने हो भने यो देशको भविष्य छैन। अब त खाडी, दूरपूर्व,पश्चिम योरोप, अमेरिका, अस्ट्रेलियामात्र होइन, मध्य एशियादेखि पूर्वी योरोपसम्मका देशहरूले पनि नेपाली कामदार लिन थालेका छन्। भविष्य नै नभएको देशमा कोही नबसे हुन्छ — देशभक्तिका नाममा सबैलाई आफू र आफ्नो परिवारको जीवन बर्बाद गर्न सल्लाह दिईँदैन। जसले जेसुकै भनुन्।

७। आफ्नो लागि होइन। राजाको लागि पनि होइन। यो गौरवमय इतिहास बोकेको देशको र देशका बहूसंख्यक युवाको भविष्यका लागि शान्ति, स्थिरता, धर्म,संस्कृति, सभ्यता तथा एकताका प्रतिक राजसंस्थाका प्रतिनिधि राजा ज्ञानेन्द्रको हातको टिका लगाउन भोली आश्था र विश्वासका साथ निर्मल निवास गइन्छ। कसैलाई केही भन्नु छ?

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version