काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे गम्भिर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।
उनले आइतबार शिष्टाचार भेटका लागि शीतल निवास पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग जलवायु परिवर्तनकाका कारण नेपालले भोग्नुपरेका समस्या समाधानमा गम्भीर भइदिन आग्रह गरेका हुन्।
‘जलवायु परिवर्तनको कारण हामी होइनौं, अरुले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौं, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनु पर्छ,’ राष्ट्रपति पौडेललाई उद्यृत गर्दै उनको सचिवालयले जनाएको छ।
उनले जलवायु परिवर्तनका कारण सेतो हिमाल कसरी कालो हुँदैछ भन्ने कुरा सगरमाथा र अन्नपूर्ण आधार शिविरजस्ता ठाउँको भ्रमणबाट महासचिव स्वयमले अनुभव गर्न सक्ने बताए।
उनले नेपाल राष्ट्रसंघीय शान्ति मिसनमा दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराउँदै शान्ति सेनामा खटिएका नेपाली सेनालाई नेतृत्व तहको जिम्मेवारी दिन आग्रह गरे।
महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि सबैभन्दा बढी असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन प्राथमिकता दिएर नेपाल भ्रमणमा आएको बताए।

