काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीना अर्थात असोज मसान्तसम्ममा मुलुकले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा ब्यहोरेको छ ।

निर्यात घटेर आयात बढ्दा मुलुकको ब्यापार घाटा २.१५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ । यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले धेरै हो । आव २०७९।८० को पहिलो तीन महीनामा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको माल वस्तु आयात भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट बाहिरी देशहरुमा हुने निर्यात निर्यात भने २.२६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ । चालु आवको तीन महीना अवधिमा नेपालले ४० अर्ब ८७ करोड ४९ लाख रुपैयाँको मात्र वस्तु निर्यात गरेको छ । जबकी अघिल्लो आवको सोही अवधि (साउनदेखि असोजसम्म) मा नेपालले ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु विभिन्न देशहरुमा निर्यात गरेको थियो ।

चालू आवको तीन महीनामा मागमा आएको सुधारका कारण आयात बढ्दा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । गत आवको असोज मसान्तसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा बढेर ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको तीन महीनाको तथ्याङ्क हेर्दा आयात निर्यातको अनुपात ९.९८ प्रतिशत रहेको छ । कुल ब्यापारमा निर्यातको हिस्सा ९.११ र आयातको हिस्सा ९०.८९ प्रतिशत रहेको छ । अर्थात नेपालले कुल १०० वटा वस्तुको वैदेशिक ब्यापार गर्दा ९१ वटा वस्तुको आयात गर्दा ९ वटा वस्तु मात्र निर्यात गर्न सकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version