काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र दस करोड रुपियाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।


जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे। उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्ण जीवि पन्थ ले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए।

कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए।

भूकम्प पीडितहरुका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version