काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंसिर ७ गते गर्ने भनिएको कार्यक्रम माइतीघर मण्डलमा गर्न नदिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले बताए।

‘त्यहाँ नजिकै अदालतहरू छन्। अस्पतालहरू छन्। बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो। यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ। सम्पर्कमा आउनुभयो भने छुट्टाछुट्टै स्थान तोकिदिन्छौं’, आचार्यले भने, ‘यदि छलफलमा नआई कानुनविपरीतका काम भए कारबाही हुन्छ।’

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version