काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ।

बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै सो समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेको हो।

तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईं समूहले पत्रकार सम्मेलनमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।

‘स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ।

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको जानकारी दिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version