स्याङ्जा: स्याङ्जामा यस बर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।
गएको वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
सुन्तला उत्पादनमा कम भए पनि मूल्यमा भने धेरै कमी नआउने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यो बर्ष सुन्तला पातलो फलेको छ तर दानाको आकार ठूलो छ त्यसैले मुल्यमा धेरै फरक पर्ने अवस्था छैन ।”
सुन्तलको उत्पादन घट्नुको प्रमुख कारण प्राकृतिक रहेको प्रमुख लम्सालको भनाई छ । एक बर्ष सुन्तलाको बोटले बाक्लो फल दिने र अर्काे बर्ष पातलो फल दिने गरेको छ । बगैचा सही व्यवस्थापन हुन नसकेको कारण पनि सुन्तला उत्पादनमा कमी आएको लम्सालले बताउनु भयो ।
लम्सालका अनुशार जिल्लाका अधिकांश क्षेत्रमा गरिने सुन्तला खेतीमा यही समस्या रहेको छ । उहाँले थप्नुभयो,“एक बर्षको अन्तरालमा उत्पादनमा फरक आउने सुन्तलाको जातीय गुण पनि हुन सक्छ,यसको अलवा मलजल र उचित हेरचाह पनि हो ।”
गएको साल स्याङ्जाका किसानले सुन्तलाबाट एक अर्व बराबरको आम्दानी गरेको लम्सालले जानकारी दिनुभयो । यो बर्ष आम्दानी घट्ने निश्चित छ यसको विवरण अन्तिममा मात्रै तयार हुनेछ उहाँले भन्नुभयो ।
जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । ती मध्ये एक हजार तीन सय हेक्टर उत्पादनशील बगैंचा छन् भने तीन हजार पाँच सय जना सुन्तला व्यावसायिक किसान जिल्लाममा रहेकाछन् ।
जिल्लाभरका १२ हजार धरधुरी सुन्तला किसानका ३ हजारभन्दा बढी साना ठूला सुन्तलाका बगैचा छन । स्याङ्जाका ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ । सुन्तलाका लागि उपयुक्त भूगोल रहेको स्याङ्वजामा प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रमले पनि उत्पादन बढाउनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ । कार्यक्रम संचालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको संख्या बढेको सुपरजोन कार्यालय प्रमुख लम्सालको भनाई छ ।
पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका सहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन । चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाको खेती गरिदै आएको छ ।
कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलोसातासम्म रहन्छ । सुन्तला बिरुवा रोपेको ५ देखि ७ बर्षभित्रमा फल दिने हुदाँ सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ । त्यसमा पनि सुपरजोन र जिल्ला कृषि ज्ञान केन्द्रको पनि सहयोग राम्रो रहेको छ ।
स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा,बुटवल लगायतका ठाउँमा माग रहेको कृषकको भनाई छ ।

