काठमाडौँ: सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएको छ। तर निगमले ग्यासको भाउ यथावत राखेको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।

त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।

निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version