काठमाडौँ: भूकम्पबाट भत्किएका पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माण र यस क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ ।

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक एवं आवश्यकताअनुसार आर्थिक सहयोगसमेत गर्न लागेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालसहितको समूहसँग आज छलफल गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि आवश्यक पुरातत्वविद् तथा प्राविधिक जनशक्ति लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पशुपति क्षेत्रका भूकम्प प्रभावित संरचना पुनःनिर्माण एवं प्रबलीकरणको स्पष्ट योजना माग गर्दै उनले आर्थिक स्रोतको अभाव हुन नदिने बताए ।

“धार्मिक र पुरातात्विक सम्पदाको पुनःनिर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्छ, पुनःनिर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकसाथ अगाडि बढाउनुपर्छ, यसका लागि प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदायलगायत बीच समन्वय र सहकार्य हुनुपर्छ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

उनले पुनःनिर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणिकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिए । “गुरुयोजना तयार गर्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीको सेवा र सुविधा क्षेत्र गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी गुरुयोजना बनाउनु उपयुक्त हुनेछ”, उनले भने।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालाबाट जयवागेश्वरी, जयवागेश्वरीबाट गुह्येश्वरी, गुह्येश्वरीबाट एयरपोर्ट र एयरपोर्टबाट गौशालासम्मको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव पनि दिए ।

कोषका सदस्य सचिव डा ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनःनिर्माणका धेरै काम अघि बढाउन नसकिएको स्वीकारे।

“पुनःनिर्माणका लागि विनियोजन भएको बजेटसमेत खर्च गर्न सकिएको छैन, पुनःनिर्माणका बाँकी काम गर्नसमेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ”, उनले भने।

गत वर्ष पशुपति क्षेत्रको पुनःनिर्माणका लागि रु २० करोड विनियोजन भएको थियो । कोषका अनुसार श्लेष्मान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्रको जमीन भासिएकाले भू–संरक्षण गर्नुपर्ने र मन्दिरको जीर्णोद्धार र संरक्षण गर्नुपर्ने आवश्यकता छ ।

यस्तै सत्तल बने पनि विश्वरुप मन्दिरको पुनःनिर्माण अघि बढ्न सकेको छैन । जयबागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदा, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुह्ेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनःनिर्माण अघि बढ्न सकेको छैन ।

“पुनःनिर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफैँ बनाउने निर्णय गरेका छौँ”, सदस्य सचिव डा ढकालले भने, “पुनःनिर्माणका कामलाई अघि बढाउन त्यसको विकल्प देखिएन ।”

विसं २०४६ मा बनेको पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन हुन सकेन । विसं २०५६ को योजना अपेक्षा गरेअनुसार अघि बढेन । हाल कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्घकालीन विकास योजना छैन । योजनाबद्ध ढङ्गले पशुपति क्षेत्रका मन्दिरको संरक्षण र विकासलाई अगाडि बढाउन सकिएको छैन ।

सदस्य सचिव डा ढकालले गुरुयोजना बनाउने प्रक्रिया शुरु गरेको उल्लेख गर्दै सबै पक्षको सहयोग र सुझावमा यसलाई अन्तिम रुप दिने बताए ।

उनले नापी विभाग, वातवारण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । छलफलमा प्राधिकरणका तर्फबाट कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, सम्पदाविद् सूर्यभक्त साँगाछे, पुरातत्व अधिकृत भीष्म बाँस्कोटालगायत सहभागी थिए।

यसैगरी कोषका तर्फबाट सञ्चालक समिति सदस्य रमेशराज शिवाकोटी, घनश्याम उपाध्याय कोइरालालगायत उपस्थित थिएय।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version