काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् ।

‘हिजोआज तपाईले पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौं रुपैयाँको घोटालाको काण्ड सुन्नुहुन्छ, प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ’, उनले भने ।

महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।

‘कांग्रेस भएको सरकार हो, यो सरकारले यो खालको कुनै पनि काममा यदि कहिँ कतैबाट पनि कानुनको दुरुपयोग भएको छ, जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस्, यदि ठूलै नेताको सम्पत्ति चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने जो सुकै होस् दण्ड पाउँछ भन्ने विश्वास दिलाउनुपर्छ’, उनले भने ।

मलेसियाको कम्पनी आजियटाले हालै आफ्नो एनसेलमा रहेको स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको छ । उक्त खरिदबिक्री शंकास्पद भन्दै नेपालभित्र छानबिन हुनुपर्ने माग भइरहेको छ ।

महामन्त्री थापाले नागरिकका साना साना काम पनि नभएका कारण सरकारप्रति आक्रोश बढेको बताए । अर्थतन्त्रको अवस्था मन्त्रालयको खाता पल्टाएर मात्रै नदेखिने भन्दै उनले थपे, ‘तथ्यांकले केही सकरात्मक कुराको संकेत गरेको छ । तर, गाउँ गाउँ डुलेर हेर्‍यौं भने किसानहरुको रुवावासी छ ।’ बैंकबाट ऋण लिएर सानो सानो व्यवसाय गर्नेको अवस्था नाजुक बनेको उनले भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version