काठमाडौँ:
उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लागेका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर उनलाई यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने भएको हो।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले पनि अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट भोलि नै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा नटुंगिए खाण शुक्रबार पनि छुट्ने सम्भावना हुने छैन।

सम्पत्ति शुद्धीकरण विभागले उनलाई पुनः अख्तियारमा पठाउने छ। यसअघिका प्रतिवादीहरुलाई अख्तियारले तारेखमा रिहा गरेकाले खाँणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाण गत वैशाख २७ गते चाबहिलस्थित निवासबाट पक्राउ परेका थिए। ७ महिना पूरा जेल बसेपछि उनी रिहा हुन लागेका हुन्।

यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलको इजलासले यो मुद्दाका सबैको निवेदनमा टुंगो लगाएको थियो। तर खाणको पक्षमा भने न्यायाधीशको राय बाझिएपछि आदेश हुन सकेको थिएन।

बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेश गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version