काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् ।

सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास भएपनि पर्याप्त नभएको बताए ।

‘आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन’ गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प चाहिने भन्दै उनले भने, ‘यस दिशामा विश्वविद्यालय परिवारले थप मिहिनेत गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘२१औं शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रिविले झेलिरहेको समस्या र नागरिकको अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु ।’

भूमण्डलीकृत विश्वको दवाव तत्कालका निम्ति काबुबाहिर देखिएको उनले बताए । उनले प्रश्न गरे, ‘तर विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ?

विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?’

एकातिर विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, अर्कातिर आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिने पनि गरेको पनि उनले बताए । ‘यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

विश्वविद्यालयहरूको रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले त्रिविको स्तरवृद्धिमा सहयोगका निम्ति सरकार सधै तत्पर रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version