काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगञ्ज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो। शिविरमा २०० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्। यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंक १७ औँ वर्ष पुरा गर्दैछ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बैंकले जनाएको छ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन्।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।
ग्लोबल आईएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

