काठमाडौँ: सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितलाई दोषी ठहर गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो। विशेषले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको छ।
नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो।
यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो।

