काठमाडौँ: काठमाडौंका केही ठाउँमा बुधबार दिउँसो छिटफुट वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका चाबहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको हो।

‘एक दुई स्थानमा छिटफुट वर्षा भएको हो, केही बेर पानी पर्‍यो र रोकियो,’ उनले भने।

उनकाअनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो। काठमाडौंको आकाश बुधबार दिउँसो धुम्म परेको छ। अन्य दिनको तुलनामा आज चिसो केही बढी महसुस भएको छ।

काठमाडौंबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। झाका अनुसार मनाङमा पछिल्लो ६ घन्टामा २.५ मिलिमिटर र ताप्लेजुङमा १.५ मिलिमिटर वर्षा भएको छ।

मनाङको हुम्डे, गोरखाको लाप्राक, सोलुखुम्बुको लुक्ला, हुम्ला लगायत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद झाले जानकारी दिए।

उनले अहिले नै हिउँदे वर्षा गराउने प्रणाली भने सक्रिय नभएको बताए। ‘पश्चिमी वायुको सामान्य प्रभाव हो, वर्षा गराउने प्रणाली अझै सक्रिय भइसकेको छैन,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version