बढी भएको उर्जा राष्ट्रिय ग्रिडमा पनि जोडिने
काठमाडौं, फागुन २१
नेपाली सेनाको पाँचखाल, काभ्रेपाल्चोकस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा १८५ केभी हाइब्रिड सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको ग्लोबल पिस अपरेशन इनिसिएटिभ (जीपीओआई) को सुरक्षा कार्यक्रम अन्तर्गतको सहयोगमा हाइब्रिड सोलार पावर प्यानल बिपीओटीसी, पाँचखालमा बुधबारदेखि जडान गरी प्रयोगमा ल्याएको हो ।
अमेरिकी राजनीतिक-सैन्य मामिला ब्यूरो (पीएम) का कार्यक्रम र सञ्चालनका प्रमुख उपसहायक सचिव राचेल शिलरले बुधबार बीपीओटीसी परिसरमा आयोजित विशेष समारोहमा नयाँ जडान गरिएको हाइब्रिड सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसहायक सचिव शिलरले नेपाली सेनाको बीपीओटीसीलाई सोलार पावर प्यानल स्थापना गर्न सहयोग गर्न पाउँदा अमेरिकी सरकारलाई खुसी लागेको बताउनुभयो, जुन यसअघि कुनै पनि शान्ति मिसनलाई यस किसिमको पहिलो सहयोग र प्राविधिक सहयोग थियो।
उनले यो संयुक्त राष्ट्रसंघ, अमेरिका र नेपाली सेनाबीचको त्रिपक्षीय साझेदारी कार्यक्रम भएको बताइन् ।
सहायक सचिव शिलरले डिजेल जेनेरेटरको अवस्थादेखि हाइब्रिड सोलार जेनेरेटर प्रयोग गर्ने अवस्थासम्म अव शान्ति सैनिकहरु आइपुगेको र अब शान्ति सेना तैनाथले गर्ने कार्बन उत्सर्जन घटाउन र नवीकरण गर्न नसकिने इन्धन खपत नियन्त्रण गर्न यसले मद्दत गर्ने बताउनु भयो ।
शिलरले शान्ति सेनाका लागि हाइब्रिड सोलार अवधारणा डिजाइन गरेकोमा संयुक्त राष्ट्र संघको कार्यालय र नेपाली सेनाको नेतृत्वले शान्ति सेनाका लागि यो पहललाई पछ्याएकोमा मान्यता दिनुभयो।
उनले यो सौर्य उर्जा प्रणालीले संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघ शान्ति स्थापना कार्यमा सहयोग गर्ने देशहरू र वातावरण संरक्षणलाई अगाडि बढाउन दाताहरूका लागि उत्प्रेरकको रूपमा काम गर्ने बताइन्।
“अमेरिकी सरकारले निलो ग्रह अर्थात पृथ्वीलाई हरियो बनाउन अर्थात वातावरण मैत्री बनाउन तपाईंसँग साझेदारी गर्न पाउँदा गर्व महसुस गर्छ,” शिलरले भने।
महानिर्देशक मिलिटरी अपरेशन (डिजिएमओ) का प्रमुख महारथी प्रेमध्वज अधिकारी र नेपाल र अमेरिकाबीच सन् १९४८ मा द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै अमेरिकी सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँदै आएको बताए ।
उनले नेपाल र अमेरिकाबीच शान्ति स्थापनाको क्षेत्रमा सन् २००० देखि बहुराष्ट्रिय प्लाटुन तालिम अभ्यासको सुरुवात भएको बताए ।
“यसले बीपीओटीसीको मुख्य कविन्द्र हल र यसका सबै उपकार्यालयहरूमा रात र दिनमा सौर्य उर्जाको सुविधा सुनिश्चित गर्दछ,” बीपीओटीसीका प्रशिक्षण प्रमुख लेफ्टिनेन्ट कर्णेल सुवेश कायस्थले बताउनु भयो। भविष्यमा प्रयोग गरि बढी भएको सौर्य उर्जा राष्ट्रिय ग्रिड पनि जोडिने लेफ्टिनेन्ट कर्णेल कायस्थले जानकारी दिनुभयो ।
“यस सौर्य उर्जा प्रणालीले सामान्यतया ८५० जना कर्मचारी रहेको बटालियन संरचनालाई विद्युत सुविधा उपलब्ध गराउने क्षमताको छ,” कायस्थले भने।

